(१) पीडित व्यक्तिले आफूलाई यातना दिएको मितिले वा थुनाबाट मुक्त भएको मितिले
३५ दिनभित्र क्षतिपूर्तिको माग दावी गरी आफू थुनामा रहेको जिल्लाको जिल्ला अदालतमा उजूरी दिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पीडित व्यक्तिको मृत्यु
भएको अवस्थामा वा अन्य कुनै कारणबाट पीडित व्यक्ति आफैले उजुरी दिन नसक्ने अवस्था
भएमा त्यसको कारण खोली निजको परिवारको उमेर पुगेको कुनै व्यक्ति वा निजको कानून
व्यवसायीले उपदफा (१) बमोजिम उजुरी दिन सक्नेछ ।
(३) थुनामा रहेको व्यक्तिलाई यातना दिएको छ भन्ने लागेमा निजको परिवारको उमेर
पुगेको कुनै व्यक्ति वा निजको कानून व्यवसायीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिन
सक्नेछ । यस्तो निवेदन परेकोमा अदालतले तीन दिनभित्र थुनमा रहेको व्यक्तिको शारीरिक
वा मानसिक जाँच गराउन आदेश दिन सक्नेछ । यसरी जाँच गर्दा उपचार गर्नु पर्ने भएमा
नेपाल सरकारको तर्फबाट उपचार गराइनेछ ।
(४) उपदफा (१) वा २ बमोजिम दिइने उजुरीमा यथासंभव देहायका कुराहरु समेत
खुलाउनु पर्नेछ :–
(क) थुनामा परेको कारण र थुनामा बिताएको अवधि ।
(ख) थुनामा रहँदा दिइएको यातनाको विवरण ।
(ग) यातना दिएको कारणबाट पुग्न गएको क्षतिको विवरण ।
(घ) दाबी गरेको क्षतिपूर्तिको रकम ।
(ङ) दाबी प्रमाणित गर्न सहायक हुने अरु कुनै व्यहोरा ।